संविधान दिवसको अवसर पारेर बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘खुस्मा’ले बिहानी शोबाटै हाउसफूल सुरुवात गरेको छ । फिल्मले हाउसफूल सुरुवात गरेपछि विहानैबाट मुख्य कलाकार धिरज मगर, उपासना सिंह ठकुरी विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । यता कोशी प्रदेशको इटहरी, धरान, दमक र विर्तामोडमा पनि खुस्माको अधिकांश शोहरु राताम्मे थिए । इटहरीको इलाईट सिनेमा हल, धरानको फ्रेन्ड्स सिनेमाज, दमकको डिम्याक्स र विर्तामोडको क्विएफएक्समा खुस्माले सुखद सुरुवात गरेको थियो । आज शुक्रवार पनि अनलाइन बुकिङ धमाधम भैरहेको देख्न सकिन्छ । इलाईटले खुस्मालाई ५ शो, फ्रेन्ड्सले ४ शो, डिम्याक्सले ३ शो र विर्तामोडको क्विएफएक्सले ३ शो दिएको छ । यसबाहेक यी ४ ठाउँका अन्य हल र विराटनगरमा भने फिल्ममा खासै दर्शक देखिदैनन् । बिहिवार दिउँसो देशभरका अधिकांश शोमा ६० देखि ८० प्रतिशत माथि अकुपेन्सी रहेको भएपनि त्यसमध्येका धेरै शोहरु हाउसफूल भएको वितरक गोबिन्द शाहीले बताए । यस्तै, बिहीबार फिल्म हेरेका अधिकांश दर्शकले फिल्मको कथावस्तु र कलाकारको अभिनयको तारिफ गरेका छन् । जसको प्रत्यक्ष फाइदा आज शुक्रबारलाई पनि मिल्दैछ । दर्शकबाट मिलेको उत्कृष्ट वर्डअफ माउथले फिल्मको शनिबारको व्यापार आक्रामक हुने विश्वास वितरकको छ । फिल्मको प्रचार सामाग्री ‘रुकुम मैकोट’ गीत र टिजर तथा ट्रेलरले दर्शकमाझ बनाएको हाइपको फाइदा सिनेमालाई मिलेको हो । यो गीत अहिले पनि युट्युब ट्रेन्डिङ अन्तर्गत म्युजिक सेक्सनको शिर्ष स्थानमा छ । यो सँगै फिल्मका मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरीको जोडीलाई दर्शकले रुचाएका छन् । फिल्म हेरेका अधिकांश दर्शकले सशस्त्र द्धन्द्धकालको कथामा आफुलाई पाएको बताएका हुन् । साथै, हरेक नेपालीले हेर्न पर्ने फिल्म ‘खुस्मा’ बनेको प्रतिक्रिया पनि दर्शकको छ । एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगरले गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो । फिल्मको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । फिल्ममा दिपक बज्राचार्यको छायांकन रहेको छ । फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, राजु रेग्मी मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ । मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *